दशैँ विशेष : नौरथाभरि नौ नारी

पहिला केटी मान्छेले टुपिस लगाउन धेरै अप्ठ्यारो मान्थे : निर्मला महर्जन (भिडियोसहित)

प्रकाशित मिति: १३ आश्विन २०७४, शुक्रबार

सन् २००५ देखि फिटनेश ट्रेनर बनेकी निर्मला महर्जन सन् १९९८ देखि नै बडिबिल्डिङ्ग क्षेत्रमा लागेकी हुन् । अहिले यसैमा काममा सक्रिय रहेकी निर्मलाले जिममा पनि एरोविग्स जुम्बा, पर्सनल ट्रेनिङदेखि लिएर वेट ट्रेनिङ सिकाउने गर्दै आएकी छन् । पहिलो पटक सन् २०१५मा उनले बैंककमा भएको वर्ड च्याम्पियनसिपमा भाग लिएकी थिइन् । त्यसपछि भुटानमा २०१६ मा भएको एसियन च्याम्पियनसिपमा उनी १३ जनामा सातौं स्थानमा आएकी थिइन् । त्यसपछि उनले २०१७ अगस्ट २० देखि २६ सम्म भएको एसियन च्याम्पिएनसिपमा ओमन एथलेटिक्स फिजिक्समा भाग लिइन् र चौथो स्थान हासिल गर्न सफल भइन् । बडा दशैँको चौथो दिन उनै महिला बडीबिल्डर निर्मला महर्जनसँग नौ रथाभरिमा नौ नारी विशेषमा रिपोर्टर नेपालका लागि रेनु कार्कीले गरेको कुराकानी :

कसरी यो क्षेत्रमा लाग्नु भयो ?

म बच्चैदेखि एथलेटिक्स टाइपकै थिए । स्कुल पढ्दा पनि कराँते, तेक्वान्दो, भलिबल खेल्न रुची लाग्थ्यो । गेमहरु खेल्न धेरै हौसिन्थे । मेरो घर नजिकै एउटा टप गेट जिम भन्ने एउटा फिट्नेश सेन्टर थियो । घरबाट स्कुल जान बाहिर निस्किदाखेरी प्राय त्यो सेन्टरमा मान्छेहरु एक्सरसाइज गरेको देखिनै रहन्थ्यो । मलाई त्यो हेर्दा हेर्दै नै हामीले पनि गर्न मिल्छ कि ? भन्ने इच्छा जाग्यो । म त्यो सेन्टरमा गएर झ्यालबाट सधैं जसो १०/१५ मिनेट हेर्ने गर्थे । त्यो हेर्ने गर्दागर्दै नै त्यहाँको गुरुले मलाई देखेर केटी मान्छेले पनि फिट्नेश गर्न मिल्छ र गरिसकेपछि केटी मान्छेले पनि सिकाउन मिल्छ भन्नु भयो । गुरुले त्यसो भनेपछि मेरो अलि इच्छा जाग्यो । मैले बुबा आमालाई सोधेर आउँछु भने, उहाँले हुन्छ सोधेर आउनु भन्नुभयो । र, बुबालाई मैले गएर सोधेपछि पढाइ बिग्रिन्छ हुँदैन भन्नुभयो । मम्मीले चाहिँ बुबालाई सोध्नुपर्छ भन्नु भयो । त्यसबेला म ८ कक्षामा पढ्थे होला । मम्मी बुबा दुवैजना नमानेपछि मैले पनि त्यति इच्छा गरिन । त्यसको एक हप्तापछि फेरि गुरुले मलाई भेटेर कुरा गर्नु भएपछि उहाँले मम्मी बुबालाई राम्ररी कुरा गर यो राम्रै फिल्ड हो भन्नु भयो । अनि फेरि घरमा सोधे बुबाले चाहिँ हुँदैन नै भनिराख्नु भएको थियो र मम्मीले चाहिँ बुबाले गाली गर्ने हो कि भन्नुभयो । मैले अलिकति मम्मीको सपोट पाइसकेपछि म आफै गएर छिरि हाले ।

यो व्यवसायमा पहिले र अहिलेको अवस्था कस्तो छ ?

पहिला त केटी मान्छेहरु जिमै नजाने हुन्थ्यो । मैले २००५ मा सिकाउदा पनि त्यसबेला केटा मान्छे मात्रै हुन्थे, केटीहरु हुँदैन थिए । झन १९९८ मा त जुनै जिममा पनि केटा मान्छे मात्रै थिए । एक दुई जना केटी मान्छेहरु भए पनि लजाउदै गर्ने गर्थे । मैले सुरु गर्दा जिममा केटी मान्छेबाट त म एक्लै थिए । त्यसबेला म एक्लै केटी मान्छे भए पनि मलाई गाह्रो लागेन, किनकि मलाई गुरुको सपोट भएकाले, गुरुले आफैले मलाई गाइड गरिदिनु हुन्थ्यो । केटामान्छे मात्र छ भन्ने कुरालाई इग्नोर गरेर मेरो लागि आएको हो भनेर जिम तिर छिर्थे । केटा मान्छे त भनेर म लजाएको भए सायद म यहाँ सम्म आउदिन थिए होला । फेरि मेरो टोल, ठाउँ भएकोले पनि ढुक्क भयो ।

सुुरुमा कत्तिको गाह्रो भयो त ?

सुुरुमा फलाम उचाल्न त धेरै गाह्रो कुरा नै हो । घरमा पाँच केजीको सामान उठाउन गाह्रो छ भनेपछि फलाम उचाल्न गाह्रै कुरा हो । तर, मलाई सुुरुको लेबलदेखि नै सिकाएको भएर त्यति गाह्रो त भएन । सायद तालिमप्राप्त नभएको गुरुले सिकाउनु भएको भए त एकैचोटी भारी उठाउन दिनु हुन्थ्यो होला । तर, त्यसरी उहाँले सिकाउनु भएन, सुरुदेखि नै सिकाउनु भएकोले र म बास्केटबल, भलिबल खेलिराखेको भएर पनि त्यति गाह्रो भएन ।

त्यतिबेला कुनै राष्ट्रिय प्रतियोगितामा भाग लिनु भयो ?

त्यो समयमा केटी फिट्नेश थिएनन् । त्यो कारणले गर्दा धर्मश्री, मिश्र हिमालयलगायतका डेमोहरु चाहिँ गरे । जस्तो मिश्र नेपालमा म एक्लै लेडिजले टुपिस लगाएर डेमो गरेको छु । धर्मश्रीमा पनि जसमिन दवाडी, निर्जला ताम्राकार र म लगायत हामी लेडीहरु तीनजना थियौं । हामी तीनजनाले धर्मश्रीमा डेमो देखाएका थियौं । जसमिन दवाडी यूएसमा हुनुहुन्छ, निर्जला ताम्राकार नेशनल साइक्लिस्ट हुनुहुन्छ, इन्टरनेशनल पनि खेलिसक्नु भएको छ, उहाँ अहिले नेपालमै हुनुहुन्छ । म चाहिँ अहिलेसम्म यसैमा लागिराखेको छु । पहिला त लेडिज फिटनेश थिएन, किनकि टुपिस लगाउन धेरै गाह्रो कुरा थियो नेपालमा । त्यतिबेला केटी मान्छे अप्ठ्यारो मान्ने भएकाले यो फिल्डमा अगाडि नआएका हुन फेरि त्यतिबेला कुनै राष्ट्रिय प्रतिस्पर्धा पनि भएन । त्यहि पनि हामीले डेमो देखायौं, मैले धेरै खेलहरुमा म एक्लै पनि टुपिस लगाएर बडि बिल्डिङ्ग, फिटनेश टाइपको डेमोस्ट्रेशन गरे ।

पहिला कुन गेमबाट सुुरुवात गर्नु भयो ?

पहिला धर्मश्री ज्याठाको ब्याण्ड मन्दिरबाट ९औँ धर्मश्री गर्दा । मेरो पहिल्यै देखिको इच्छा, मलाई पनि स्टेजमा उत्रिनु पर्छ, केटाहरु जस्तै मैले पनि जित्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । त्यहि भएर म आफै पनि एकचोटी स्टेजमा उभिऊ त्यसपछि अरु केटी मान्छेहरु पनि आउला कि भन्ने लाग्थ्यो । तर, त्यो बेलामा धेरै गाह्रो भयो, आफू तीन÷चार चोटी स्टेजमा उभिदा पनि केटीमान्छेहरु अगाडि नआएको देख्दा चाहिँ आफू पनि पछाडि प¥यो । एशोसिएसनले पनि केटीहरु नभएको भएर प्रतिस्पर्धा राखेन । आफ्नो एम, टारगेट भएकोले राष्ट्रिय नभए पनि अन्तर्राष्ट्रियस्तरमा खेल्छु भन्ने भएर २०१५ मा वर्ड च्याम्पिएनसिप थियो बैंककमा । त्यसमा पहिलो चोटी ओमन फिजिक्समा भाग लिएको थिए, त्यसमा सबै देशको गरी १६/१७ जना प्रतिस्पर्धि थिए । मेरो पहिलो चोटी भएको भएर र्याङ्क त आउन सकेन । तर, वर्डको स्टेजमा उभिनु नै मेरो लागि ठूलो कुरा भयो त्यो बेला । त्यसबाट राम्रो अनुभव गर्न पाए, धेरै देशबाट आउने प्रतिस्पर्धीहरुलाई साथी बनाउन पाए । वर्डको स्टेज कस्तो छ भनेर अनुभव बटुल्न पाए र यो भन्दा राम्रो गर्छु भन्ने धेरै प्रकारका अनुभवहरु लिन पाए । त्यसपछि २०१६ मा दोस्रोचोटी भुटानमा एसिएन च्याम्पिएनसिप थियो । त्यसमा पनि मैले ओमन फिजिक्समै भाग लिएको थिए । त्यसमा १३ जना केटीमान्छेमध्ये म सातौं स्थानमा आए । त्यसमा टप फाइभसम्म आउनु पर्ने थियो तर म सातौं स्थानमा आउनु पनि नेपालको लागि त्यतिबेला ठूलै कुरा थियोे । भर्खरै २०१७ अगस्ट २० देखि २६ सम्म भएको एसियन च्याम्पिएनसिप, कोरियामा हामी सबै देशको गरी १० जना थियौं । त्यसमा पनि टप फाइभसम्म छिर्नुपर्ने थियो, मैले चौथो स्थान ल्याए

अहिले परिवारले कस्तो प्रतिक्रिया जनाउनु हुन्छ ?

उहाँहरु अहिले धेरै खुसी हुनु हुन्छ । २००५ मै मैले डेमो गर्दा पत्रिकामा नामहरु आउदा बुबा एकदमै खुसी हुनु भयो ।

महिलाहरुलाई यो फिल्डबारे के भन्ने चाहनु हुन्छ ?

यो फिल्ड धेरै राम्रो हो । हार्डवर्क नै गर्नुपर्छ भन्ने छैन, आफ्नो शरीरको लागि पनि गर्न सकिन्छ । केटीमान्छेलाई जीममा आउनको लागि घरपरिवारबाट गाह्रै छ तर अहिले आमा बुबाहरुले पनि धेरै बुझिसक्नु भएकोले उहाँहरुलाई यो बारे सम्झाउन बुझाउन सकिन्छ । अहिले कुनै रोग लागेकाहरुलाई एक्सरसाइज नै गर्नुपर्छ भनेर डाक्टरहरुले सल्लाह पनि दिइराख्नु भएको हुन्छ । त्यसैले अहिले धेरै सजिलो भएको छ एक्सरसाइज नै महत्वपूर्ण पाटो हो भन्ने गर्नुहुन्छ हरेक परिवारमा । म त भन्छु केटामान्छेलाई भन्दा पनि केटी मान्छेलाई एकदमै महत्वपूर्ण छ एक्सरसाइज, हामी जस्तै बडि बिल्डरै हुनुपर्छ भन्ने छैन तर फिट एण्ड फाइन, स्वस्थ, दिमाग स्वच्छ, फुर्तिलो, निरोगी हुनको लागि एक्सरसाइज महत्वपूर्ण छ । तपाईहरु कोही पनि हिचकिचाएर घरमा नबस्नुहोस्, खुल्ला मन लिएर जिममा आउन सक्नुहुन्छ ।

दशैँ कसरी मनाउनु हुन्छ ?

जिमहरु बन्द हुन्छ । परिवारसँग जमघट हुन्छ । आफन्तको गएर रमाइलो गरिन्छ । हाम्रो परिवार साथी जस्तै भएकोले सबैजना एकैठाउँमा भेला हुँदा रमाइलो हुन्छ । हामी एकआपसमा कुराहरु आदानप्रदान गर्ने, तास खेल्ने गरेर रमाइलो गर्छौ ।

दिनमा कति घण्टा एक्सरसाइज गर्नु हुन्छ ?

अहिले गेम नभएकोले बिहान दुई घण्टा एक्सरसाइज गर्छु । यदि गेम हुने छ भने त्यसको तयारीको लागि पनि बिहान दुई घण्टा बेलुका दुई घण्टा गर्छु ।

बाटोमा हिड्दा कसैले केटाको जस्तो शरीर रहेछ भन्दा तपाईंले कस्तो महसुस गर्नुहुन्छ ?

उहाँहरुले भन्दा म सकारात्मक तरिकाले नै लिन्छु । केटाको जस्तो शरीर भनेपछि म चाहिँ केटा मान्छे जस्तै दह्रो रहेछु भन्ने तरिकाले सोच्ने गर्छु ।

अन्त्यमा के भन्न चाहानु हुन्छ ?

दशैँमा चिल्लो चाप्लो धेरै नखानुहोस् । स्वस्थ हुनुहोस्, खुसीसँग आफ्नो परिवारसँग बिताउनुस् । देशमा जस्तोसुकै दुःख कष्ट भए पनि परिवारसँग खुसी भएर बिताउनुहोस् सबैजनालाई दशैँको शुभकामना छ भन्न चाहन्छु ।

नौरथाभरि नौ नारी विशेषका लागि :

परिकल्पना : हेम राई

 निर्देशन : रेनु कार्की

सम्पादन : रीता बस्नेत

छायांकन : अशोककुमार बस्नेत

सह-छायांकन, प्रकाश संयोजन : राजेन्द्र श्रेष्ठ पासा

दृश्य सम्पादन : मोहन थापामगर

दृश्य सम्पादन कक्ष : एग्रील्याण्ड नेपाल, अनामनगर


तपाईंको प्रतिकृयाहरू

 

 

 

 


ताजा अपडेट