दूधकोशीको बजेट करिब २२ करोड

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार

सोलुखुम्बु ५ असोज ।
दूधकोशी गाउँपालिकाको पहिलो गाउँसभाले नीति तथा कार्यक्रमको साथमा चालु आव २०७४/७५ को बजेट करिब २२ करोड रुपैयाँ सार्वजनिक गरेको छ । बुधबार सम्पन्न गाउँसभाले २१ करोड ८० लाख सात हजारको बजेट सार्वजनिक गरेको हो ।

सार्वजनिक नीति तथा कार्यक्रमले एकै वर्षमा परिर्वतनको महसुस गर्न सकिने गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईको भनाइ छ । सडकलाई प्राथमिकता दिँदै गाउँपालिकाका उपाध्यक्ष जुनिता मगरले बजेट गाउँपालिकाको विकास र समृद्धिका लागि हरेक वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने गरी विनियोजन गरिएको बताइन् । त्यस्तै, वडातर्फ सात करोड २३ लाख तथा गाउँपालिकातर्फ चार करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको छ । सशर्त अनुदानमा बजेट आठ करोड ६४ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

सोलुदूधकुण्डको बजेट करिब ४४ करोड

जिल्लाको एक मात्र नगरपालिका सोलुदूधकुण्डले सडकलाई प्राथमिकतामा राख्दै चालु आव २०७४/७५ का लागि ४३ करोड ९२ लाख ५१ हजार रुपैयाँ बजेट पारित गरेको छ । सडक स्तरोन्नतितर्फ १८ करोड ३१ लाख २५ हजार, सडक विस्तारका लागि ७५ लाख, पर्यटन पूर्वाधारका लागि एक करोड ३३ लाख २५ हजार, शिक्षामा ९७ लाख ५० हजार र स्वास्थ्यमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले जनाए ।

नगरसभाले तरकारी तथा फलफूल बजारको स्थापनासहित कृषिमा ५५ लाख, सडक सौर्य बत्तीसहित ऊर्जामा ६९ लाख, खानेपानी योजनामा ५५ लाख, नगरपालिकाको १० वटै वडामा इमेल इन्टरनेटको पहुँच पुर्याउनका लागि १५ लाख रुपैयाँ, संघसंस्था अनुदान तथा मागमा आधारित साझेदारी कार्यक्रम संचालनका लागि ३५ लाख, दैवीप्रकोप राहत तथा उद्धार कोषका लागि १० लाख रुपैयाँ र भैपरी आउने खर्चका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, ५० लाख रुपैयाँ बजेटमा नगरपालिकाले आफ्नै नगर प्रहरीको व्यवस्था गर्ने निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट