इटहरी र रामधुनीको बजेट सार्वजनिक

प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार

इटहरी, ५ असोज । चालू आव २०७४÷७५ को बजेट, नीति तथा कार्यक्रम बुधबार छुट्टाछुट्टै अर्थात् आ–आफ्नै स्थानमा विशेष कार्यक्रमको आयोजना गरी सुनसरी जिल्लाको कूल १२ स्थानीय तहमध्ये इटहरी उपमहानगरपालिका र रामधुनी नगरपालिकाले सार्वजनिक गरेका छन् ।

इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले विविध चुनौती र समस्यालाई चिर्दै उपमहानगरका लागि सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गर्ने नीतिसहित एक अर्ब ३१ करोड १७ लाख २५ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । प्रमुख चौधरीले सार्वजनिक गरेका बजेटअन्तर्गत ८० करोड ५८ लाख ६८ हजार पूँजीगत तथा ४९ करोड ३८ लाख ९९ हजार चालू खर्च हुने प्रस्तावित बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रमुख चौधरीले इटहरीलाई अबको १० वर्षभित्रमा सम्पूर्ण पूर्वाधारसहितको महानगरपालिकासँगै प्रदेश नं.१ को राजधानी बनाउने महत्वकांक्षी योजना पनि प्रस्ताव गरेका छन् । त्यस्तै, आगामी १० वर्षभित्रमा इटहरीलाई पूर्वी नेपालकै एक साधन, स्रोतसम्पन्न एवं पर्यटकीय आकर्षणको केन्द्रका रुपमा स्थापित गराउन एकै रङका आवासीय भवनसँगै भूकम्पीय जोखिमरहित आवास क्षेत्र स्थापना गरेर आगामी २५ वर्षमा अन्तर्राष्ट्रियस्तरको मेगा शहर बनाउने प्रस्ताव कार्यक्रममा गरेका थिए ।

त्यस्तै, रामधुनी नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले समुन्नत धार्मिक पर्यटकीय नगरका रुपमा विकास गर्ने योजना एवं कार्यक्रमसहित ४७ करोड २२ लाख आठ हजार रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सोही अवसरमा रामधुनी नगरको उदाहरणीय विकास योजनामा समर्पित रहेका विभिन्न टोल विकास संस्थामध्ये चारवटा टोल विकास संस्थालाई जनही ५० हजार, अन्य चारवटा टोल विकास संस्थालाई जनही २० हजार नगदसहित नगर प्रमुख चौधरीले सम्मानसमेत गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट