मन्दिरबाट वार्षिक करोडौं आम्दानी

प्रकाशित मिति: ४ आश्विन २०७४, बुधबार

बागलुङ, ४ असोज । बागलुङ कालिका भगवती मन्दिरबाट वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ । आव २०७३/७४ मा उक्त मन्दिरबाट एक करोड १५ लाख ३९ हजार भेटी संकलन भएको हो अर्थात् आव २०७२/७३ भन्दा २५ लाख रुपैयाँ बढी भेटी संकलन भएको छ ।
मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार नगदबाहेक भक्तजनले बोका, राँगो, कुखुरा, हाँसको मुढ(टाउको), परेवा, चामल र तेल बिक्रीको रकम पनि भेटीमा जाने गरेको छ । गत आवमा मन्दिरमा बली दिइएका एक हजार आठसय ५४ बोकाको मुढ बिक्रीबाट १२ लाख ९९ हजार रुपैयाँ संकलन भएको समितिका अध्यक्ष राजु खड्काले बताए ।
दुई हजार छसय सात कुखराको मुढबाट एक लाख १४ हजार र राँगोको मुढबाट ३५ हजार नौसय रुपैयाँ संकलन भएको छ । मन्दिरको भेटीमा सबैभन्दा बढी परेवा बिक्रीबाट रकम जम्मा भएको छ । गत आवमा मन्दिरबाट बिक्री भएका आठ हजार आठसय ७५ जोडी परेवाबाट ३५ लाख ५० हजार रुपैयाँ भेटी उठेको छ । प्रतिजोडी परेवा चारसय रुपैयाँमा बिक्री हुने गरेको छ । बोकाको मुढ चारसय रुपैयाँ, राँगाको सय रुपैयाँ, कुखरा र हाँसको मुढ ४५ रुपैयाँमा बिक्री हुने गरेको अध्यक्ष खड्का जनाए ।
यस्तै, भक्तजनले चढाएको चामल(अक्षेता) बिक्रीबाट मन्दिरले दुई लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ । मन्दिरमा चढेको तेल, कपडालगायतका सामग्री बिक्रीको रकम मन्दिरको भेटीमै जम्मा हुन्छ । रसिद काटेर आर्थिक सहयोग गर्ने भक्तजनबाट वर्षभरिमा ७५ हजार रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले बताए । कालिका मन्दिर देशमै प्रसिद्ध शक्तिपीठका रुपमा परिचित छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट