कोरियाद्वारा ‘स्मार्ट सिटी’ बनाउन सहयोग

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार

नवलपरासी, ३ असोज । दक्षिण कोरिया सरकारले नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सोलमा गत भदौ २५ गतेदेखि २८ गतेसम्म आयोजित २०१७ इन्टरनेशनल सिटी समिट एण्ड मेयर्स फोरम कार्यक्रममा सोबारे जानकारी दिइएको थियो ।

दक्षिण कोरियाले सहयोग गर्न लागेको काठमाडौं र पोखरा महानगरपालिका रहेका छन् भने नगरपालिकामा नवलपरासीको रामग्राम, धादिङकोे निलकण्ठ, काभ्रेको धुलिखेल र भक्तपुर रहेका छन् । स्मार्ट सिटीअन्तर्गत सडक व्यवस्थापनदेखि पर्यटकीय क्षेत्रको विकाससम्ममा दक्षिण कोरियाले सहयोग गर्ने तत्परता देखाएको हो जसका लागि दक्षिण कोरियाले आर्थिक लगानीसमेत गर्न लागेको छ ।

छनोटमा परेका नेपालका छवटा स्थानीय तहलाई स्मार्ट सिटीको रुपमा दिगो विकासका लागि दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । सो फोरममार्फत नेपालका मुख्य छवटा बजारलाई स्मार्ट सिटीका रुपमा दिगो विकासका लागि विविध रणनीतिबारे जानकारी दिएको कार्यक्रममा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिए ।

एक हप्तासम्म चलेको फोरमसहित स्थलगत भ्रमण कार्यक्रममा विश्वभरिका करिब ५० देशका करिब एकसय ३० जना नगरप्रमुखको सहभागिता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ वर्षमा गरेको चौतर्फी विकासबारे विस्तृतरुपमा जानकारी गराइएको थियो । सो फोरम कार्यक्रममा स्मार्ट सिटीको रुपमा विकास भइसकेका विभिन्न देशका उत्कृष्ट शहरको अवस्था र नेपालमा त्यसको कार्यान्वयनका बारेमा छलफल गरिएको थियो ।

सो अवसरमा नेपाली टोलीलाई दक्षिण कोरियामा रहेको साइन्स एण्ड रिसर्च सेन्टरको अध्ययन अवलोकनसमेत गराइएको टोलीमा सहभागी रामग्राम नगरपालिकाका नगर प्रमुख गुप्ताको भनाइ छ । सो अवसरमा नेपालबाट छजना स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट