राजनीति, महिला र चुनौती

प्रकाशित मिति: ३ आश्विन २०७४, मंगलवार

देशमा अहिले पनि निर्वाचनको माहोल सकिएको छैन । धेरै महिलाहरुले निर्वाचनमा भाग लिए कसैले विजय प्राप्त गरे त कसैले पराजय भोग्नु पर्यो । संघर्ष गरेर चुलो–चौको गर्दै राजनीतिमा होमिएका महिलाहरुलाई यसपालीको निर्वाचनले अघि बढ्ने हौसला प्रदान गरेको छ ।

भनिन्छ, जब चाहना हुन्छ अनि लगनशीलता र मेहनत गरिन्छ साथसाथै सफलता आफैँ पछ्याउदै आउँछ । निरन्तरको मेहनतले नै मानिसहरुलाई सफल र चिर–परिचित गराउँछ । जो–जो महिलाहरु कुरामा भन्दा काममा बढि विश्वास गर्छन्, उनीहरु नै गाउँपालिका सदस्यदेखि मेयरसम्मको एउटा सशक्त र सम्मानित क्षेत्रमा नियुक्त हुन सफल भए । जसको सम्पूर्ण जस उनीहरुले गरेका सबल र राम्रा पक्षहरुको फल हो ।

स्थानीय जनतालाई अधिकार सम्पन्न बनाउने कोशे ढुंगाको रुपमा लिइएको स्थानीय तहको निर्वाचनले आम जनतामा विकास र समृद्धिको आशा पलाएको छ, कारण धेरै महिलाहरुले स्थानीय सरकार हाँक्ने अवसर प्राप्त गरेका छन् । महिला भएका नाताले पनि नेतृत्वमा आएका महिलाहरु पुरुषको तुलनामा महिला मुद्दामा संवेदनशील हुने नै भए । विकास र स–शक्तिकरणको लागि सधैं महिलाहरुमाथि संवेदनशील संस्कार, रीतिरिवाज, पितृसत्ताका थुपै्रखालका अड्चन नेपाली समाजमा विद्यमान रहेको बेलामा पछिल्लो समयमा भने गाउँ, सहर, वडा मात्र होइन, मुलुक हाँक्न सक्नेसम्म सक्षम महिला भएका छन् ।

संविधानले स्थानीय तहमा ४० प्रतिशत महिला उमेद्वार उठाउनु पर्ने व्यवस्था गरेकोमा राजनीतिक दलले भने अधिकांश स्थानमा महिलालाई उप–प्रमुखमा मात्र सिमित गराए तर जनसंख्यामा महिला विजयी भएका छन् । त्यसबाट के प्रष्ट हुन्छ भने महिलाको नेतृत्व जनताबाट अनुमोदित भएको छ अर्थात् जनताबाट अनुमोदित भएर महिला त्यो ठाउँमा पुगेका छन् । कति सम्म भनिन्छ भने स्थानीय सरकारमा महिलाको यस्तो नेतृत्व एसियामा कतै छैन जसलाई नेपालले विश्वसामु देखाउन सक्ने ऐतिहासिक उपलब्धि मान्न सकिन्छ ।

अप्ठ्यारा समस्या एवं चुनौती सामना गर्ने कुराहरु सजिलैसँग सफल गर्न अब महिलाले सक्नु पर्छ । कतिपय महिलाको समस्या समाधान गर्न महिलाहरु नै लाग्नु पर्छ । महिला समानताका पक्षधर हुन्, महिलावादी होइनन् भन्ने प्रष्ट्याउनु पर्छ । हुनत, कसैप्रति पनि अन्याय गर्नु हुँदैन भन्ने पक्षमा महिला हुन्छन् अर्थात् सम्पन्न हुने र नहुने बीचको खाडल पुर्न चाहन्छन् । महिलामात्र अघि बढ्नु पर्छ पुरुषलाई पछि पार्नु पर्छ भन्ने महिलाको चाहना होइन, सबै समुदाय बराबर हुनुपर्छ । जो महिलाहरुले स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका छन्, उनीहरुले आफ्नो क्षेत्रलाई महिलामैत्री र महिला हिंसामुक्त बनाउने प्रण गर्नु जरुरी छ ।

विपन्न,आदिवासी जनजाति एवं दलित समुदायका किशोरीहरुका लागि शिक्षामा पहुँच पुर्याउने अभ्यास बढाउन जरुरी छ । पुरुषको तुलनामा महिला निर्णायक तहमा हुँदा समग्र महिलालाई फाइदा हुन्छ, किनकि महिलाहरुले पुरुषलाई बताउन नसक्ने समस्याहरु पनि हुन सक्छन् । त्यसैले महिलाले महिलाकै पिरमर्का बुझ्नु पर्छ । लैङ्गिक समानताका लागि कुनै कसुर बाँकी नराखी काम गर्न हिम्मत, जोस र जागर महिलामा हुनुपर्छ ।

नेपाली समाजमा महिलाको हकमा राजनीति एकदमै जटिल कुरो हो । महिलाले मन, बचन, कर्मले आफ्नो स्वेच्छाले राजनैतिक भविष्यलाई बिना अवरोध अघि बढाउन सक्दैनन् । किनकि उनीहरुको पछाडि अनेकन सामाजिक पारिवारिक समस्याहरु रहेका हुन्छन् । जसमध्ये शिक्षित र समुन्नत समाजमा जो राजनीति गर्दछ उसलाई महिलाको हकमा गाह्रो छैन तर जो कम शैक्षिक चेतनास्तर भएको क्षेत्रमा महिला राजनीति गर्छ उसले राजनीतिलाई अघि बढाउन निकै ठूला चुनौतीहरु भोग्नु परेको छ ।

महिला एउटा सामान्य छलफल, गोष्ठी, सेमिनार वा सम्मेलनमा सामेल हुन घर बाहिर निस्कदा हनिमुन मनाउन गई भन्ने हाम्रो समाज अनि यसै समाजमा बढो आदर्शका कुरा गर्ने शिक्षित भनाउदा महिलाहरुले नै महिला माथि अत्याचार गरिरहेका प्रशस्त उदारण पनि हामीसँग नभएका होइनन् । नेपाली समाजमा एउटा महिलाले आफू अघि बढिरहन खोज्दा अर्को महिलाले खुट्टा तान्ने प्रवृत्तीले पोषण पाएको छ । तसर्थ कुरा काटेर समय खेर नफालौं जीवन उपयोगी र समय सान्दर्भिक अनि समाज र देशको हित हुने खालका क्रियाकलापमा सदैव अग्रसर बनौं र बनाऔं ।

अघि बढ्न खोज्ने महिलाहरुका चुनौती नै चुनौती छन् तर सबैलाई समान रुपमा राखेर मिहेनतका साथ काम गर्दा चुनौतीहरु आफैं हटेर जान्छन् । तसर्थ खुट्टा नकमाइकन लागियो भने सफलता र नेतृत्व हाम्रो हातमा छ । महिलाका निम्ति राजनीतिमा पारिवारीक समर्थन भएता पनि समस्या सिर्जना गर्ने तत्वहरु समाजमा प्रशस्त छन् जसले महिलालाई अघि बढ्न दिदैन । तसर्थ बाधा व्यवधानलाई बेवास्ता गरेर अघि बढ्न सकियो भने मात्र सफल भइन्छ । महिलालाई राजनीतिमा विचराको नजरले हेर्ने हाम्रो समाज अहिले परिवर्तित अवस्थामा छ ।

राजनीतिमा महिलाको कुरा गर्नु पर्दा घर परिवार बालबच्चालाई सम्हालेर काम गर्नुपर्ने भएकाले महिलाका लागि नेतृत्व एकदमै चुनौतीपूर्ण छ । तर पनि घरपरिवार एउटा महिलाको हातमा हुन्छ अर्थात् एउटा महिलाले चाहेमा घर बिग्रिने, सप्रिने दुवै हुन्छ । तसर्थ सबैलाई थाहा भएकै कुरा हो, समाजका प्राय परिवारको अवस्था सप्रिएकै छ । भनेपछि भोली गएर महिलाको हातमा नेतृत्व भए देशले कसो काँचुली नफेर्ला र ?


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट