एमाले नेतादेखि राजपा नेताले कहाँबाट गरे मतदान?

प्रकाशित मिति: २ आश्विन २०७४, सोमबार

काठमाडौं, २ असोज । प्रदेश नम्बर २ का आठवटै जिल्लाका १ सय ३६ स्थानीय तहमा तेस्रो चरणमा स्थानीय तह निर्वाचन भइरहेको छ । मतदाताहरु उत्साहका साथ मतदानस्थलमा पुगी आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरिरहेका छन् ।

सर्वसाधारणदेखि विभिन्न राजनीतिक दलका नेताहरुसमेत मतदान गर्न आफ्नो गृहनगर पुगेका छन् । यसैक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गृहजिल्ला सप्तरीमा पुगेर मतदान गरेका छन् । उनले राजविराज नगरपालिका–२ स्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् । मतदानमा सहभागी हुन पाउँदा आफूलाई निकै खुसी लागेको बताउँदै उनले सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह समेत गरेका छन् ।

यस्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गृहजिल्ला रौतहटको गौर नगरपालिकामा पुगेर रामजानकी केन्द्रबाट मतदान गरेका छन् । कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिकाको राजेश्वर निधि उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । यसैगरी सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नम्बर-२ को श्री दुर्गा खोभारी जनता उच्च मावि मतदान केन्द्रमा पुगेर राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मतदान गरेका छन् ।

राजपाकै नेता शरतसिंह भण्डारीले महोत्तरीको औरही नपाको औरही मावि केन्द्रबाट मतदान गरेका छन् । धनुषाको सबैलास्थित मतदान केन्द्रबाट माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले मतदान गरेका छन् । स्वास्थ्यमा समस्या आएका कारण गत राति नै काठमाडौं फर्किएका राजपा अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी हुन पाएनन् ।

यसैगरी १ सय १६ वर्षीय भैरवबहादुर दमाईले पनि सर्लाहीको हर्कटवा जनता स्कुलबाट मतदान गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट