सिमेन्टको गुणस्तर मापनको नयाँ नियमले आयोजनाहरु प्रभावित

प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

काठमाडौं, १ असोज । सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागूपछि यतिबेला आयोजनाहरु प्रभावित भएका छन् । नेपालको जलविद्युत् आयोजनामा प्रयोग भइरहेको भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने नयाँ नियम लागू भएपछि

नेपाल विद्युत् प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका परियोजना समस्यामा परेका हुन् । नापतौल तथा गुणस्तर विभागले भारतीय सिमेन्टको गुणस्तर मापन गर्नुपर्ने भन्दै निर्देशनात्मक परिपत्र गरेको थियो । साथै, आयोजना प्रमुखले दैनिक काम नै रोकिएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तत्काल समस्या समाधान गरिदिन आग्रहसमेत गरेका छन् ।

गत भदौ ३० गते आयोजनाको स्थलगत अनुगमनमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपाओरका प्रबन्ध संचालक माधव कोइरालाले सिमेन्ट अभावमा निर्माण कार्य प्रभावित भएको बताएका थिए । प्रबन्ध निर्देशक कोइरालाका अनुसार सो आयोजनामा दैनिक सय टन सिमेन्ट आवश्यक पर्दछ । सो आयोजनामा भारतीय जेपी र जेपी गोल्ड सिमेन्ट प्रयोग भइरहेको छ । नेपाली सिमेन्ट प्रयोग गर्न सकिने भए पनि त्यसको पनि गुणस्तर परीक्षण गरिएको छैन ।

भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण प्रभावित भएको रसुवागढी मात्रै नभई माथिल्लो सान्जेन र सान्जेन जलविद्युत् आयोजना विगत पाँच महिनादेखि सिमेन्टको अभावमा प्रभावित हुन पुगेको छ । भारतीय पक्षले भने सिमेन्टको मात्रा थोरै हुने भएकाले आफूले एनएस चिह्न राखेर पठाउन नसक्ने जवाफ पठाएको रसुवागढीका प्रबन्ध निर्देशक कोइरालाको भनाइ छ ।

कूल एकसय ११ मेगावाट क्षमताको सो आयोजनाको भूकम्प र नाकाबन्दीपछि निर्माण सक्ने नयाँ कार्यतालिका सन् २०१९ तोकिएको छ । सान्जेनका दुवै जलविद्युत् आयोजनामा दैनिक सय टनभन्दा बढी सिमेन्ट खपत हुन्छ । सिमेन्ट अभावमा आयोजना ढलान तथा कङ्क्रिटको काम प्रभावित भएको छ । १४ मेगावाट क्षमताको माथिल्लो सान्जेनको निर्माण कार्य ६० प्रतिशतको हाराहारीमा सम्पन्न भएको छ ।

यस्तै गत वैशाखदेखि मात्रै पुनःनिर्माणको काम शुरु गरेको माथिल्लो त्रिशूली थ्री ए मा पनि सिमेन्टको समस्या देखिएको छ । आयोजनाका प्रमुख फणीन्द्रराज जोशीले पनि कोइरालाकै शैलीमा सिमेन्टको समस्या समाधान गरिदिन प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसँग आग्रह गरे । भूकम्पका कारण प्रभावित भएको माथिल्लो त्रिशूली थ्री मा चिनियाँ ठेकेदार गेजुवाले काम गर्न अनिच्छा व्यक्त गर्दै आएको थियो । ऊर्जा मन्त्रालयको दबाबपछि चिनियाँ ठेकेदार काम गर्न आए पनि सिमेन्ट उपलब्ध नहुँदा थप समस्या आउनसक्ने देखिएको छ । ठेकेदारले काम शुरु गरेपछि सो आयोजनाको सुरुङ निर्माणमा उल्लेख्य प्रगति भएको छ ।

कूल चार हजार एकसय मिटर लामो सुरुङमध्ये अब २४ मिटर मात्रै खन्न बाँकी रहेको जानकारी दिँदै आयोजना प्रमुख जोशीले दशैँसम्म सुरुङ ‘ब्रेक थ्रु’ हुने बताए । माथिल्लो थ्री ए आयोजना नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको आयोजना हो । कहिले आयोजनाको क्षमता वृद्धि गर्ने विवाद त कहिले ठेकेदारसँग काम गर्ने सवालमा देखिएको असमझदारीका कारण परियोजना डेढ वर्ष पर धकेलिएको छ ।

माथिल्लो त्रिशूली थ्री ए, माथिल्लो सान्जेन, सान्जेन र रसुवागढीमा एकै प्रकारको समस्या देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उच्च राजनीतिक एवं कूटनीतिक तहमा छलफल गरेर समाधान गर्ने बताए । समस्याको समाधान गर्ने प्रयासमा छु भन्दै घिसिङले सिमेन्ट अभावका कारण आयोजना रोकिने अवस्था नआउने बताए ।

नापतौल तथा गुणस्तर विभागले भने निर्माण कार्यलाई गुणस्तरीय बनाउन स्वदेशी तथा विदेशी सबै खालका सिमेन्टको गुणस्तर मापन जरुरी रहेको जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट