प्रमुख पदमा महोत्तरीका पाँचजना महिला भिड्दै

प्रकाशित मिति: ३० भाद्र २०७४, शुक्रबार

महोत्तरी, ३० भदौ । तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा महोत्तरीबाट पाँचजना महिला भिड्दै छन् ।

असोज २ गते हुने निर्वाचनमा प्रमुख पदका लागि एमालेले सम्सी गाउँपालिकामा मीनाक्षीकुमारी साह, संघीय समाजवादी फोरम नेपालले गौशाला नगरपालिकामा रामकुमारीदेवी महतो, बहुजन शक्ति पार्टीले गौशाला नगरपालिकामा फूलकुमारी सहनी, एकडारा गाउँपालिकामा सीतादेवी र औरही नगरपालिकामा बहुजन शक्ति पार्टीबाट तारादेवीलाई चुनावी मैदानमा उतारेको छ ।

जिल्लामा रहेका अन्य दलले चुनावी एजेण्डामा महिलालाई समानुपातिक एवं समावेशीको नारा दिएर चुनावी एजेण्डा बनाएता पनि व्यवहारमा उतार्न सकेका छैनन् । पछिल्लो समयमा चुनाव खर्चिलो भएको भन्दै आर्थिक स्थिति कमजोर भएका महिला, दलित, जनजाति समुदायका महिला हारिने डरले चुनावी मैदानमा आउन नसकेको एमाले नेत्री दुर्गा दाहाल बताउछिन् । हामीलाई अवसर नदिने तर महिलालाई होच्याउने कारणले यहाँका महिला अगाडि बढ्न नसकेको पूर्व सांसद एवं माओवादी विचारधाराकी नेत्री बुधनीदेवी महतोले बताइन् ।

देशका उच्च तहमा महिलाले कार्यभार संचालनमा सफलता हासिल गरेको भन्दै अब हरेक महिलालाई व्यवहारमा लागू गरेमात्र देशमा समावेशीताको नारा यथार्थमा परिणत हुने महतोले धारणा राखिन् । पितृवादी सोचाइका कारण हाम्रो समुदायमा महिलालाई अगाडि बढ्नका लागि आफ्ना सहकर्मीले नै अगाडि बढ्नबाट रोक लगाउँदै आएको माओवादी केन्द्रकी नेत्री शशीकला दाहालले प्रतिक्रिया दिइन् । जिल्लामा रहेको कांग्रेस, माओवादी केन्द्र, राजपा नेपाललगायतका दलहरुले महिलालाई उपप्रमुख या उपाध्यक्षमा सीमित पारेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट