प्रहरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानमा यौनजन्य दुर्व्यवहार गर्ने ७१ जना पक्राउ

प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

काठमाडौं, २९ भदौ । गत १८ साउनदेखि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सुरु गरेको ‘सेफ्टी पिन’ अभियानमा ७१ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुर्व्यवहार न्यूनीकरण गर्न प्रहरीले ‘सेफ्टी पिन’ अभियान सुरु गरेको थियो ।

महिला तथा बालबालिकालाई यौनजन्य दुर्व्यवहारबाट बचाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउन प्रहरीले ३३ वटा टोली बनाई उपत्यकाका विभिन्न सवारीसाधनमा खटाएको थियो। सेफ्टी पिन अभियान ३ महिनासम्म निरन्तर सञ्चालन हुने र त्यसपछि आवश्यकताअनुसार संचालन गरिने प्रहरीले बताएको छ । पीडितको उजुरी गोप्य राखिने भएकाले यस्ता क्रियाकलाप भएको थाहा पाएमा प्रहरीको हटलाईन १०० र ९८५१२८९११ मा खबर गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

‘सेफ्टी पिन’ अभियानअन्तर्गत सादा पोशाकमा खटिएका प्रहरीले अहिलेसम्म गालीगलौज गर्ने ४८, अश्लिल क्रियाकलाप गर्ने १०, अन्य ५ र पाकेट मार्ने ८ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये अधिकांश बढी लेखपढ गरेका व्यक्तिहरुले यौनजन्य दुर्व्यवहार गर्ने गरेको पाइएको छ । १५ देखि २५ वर्ष उमेर समूहकाले बढी यौनजन्य दुर्व्यवहार गर्ने र यौनजन्य दुर्व्यवहार र गालीगलौज गर्ने ४८ मध्ये सबैभन्दा बढी साधारण लेखपढ जानेको ३८ जना छन् भने स्नातकोत्तर गरेका १ जना समेत रहेको प्रहरीले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट