आजदेखि यी ठाउँबाट साट्नुहोस् दशैंका लागि नयाँ नोट

प्रकाशित मिति: २८ भाद्र २०७४, बुधबार

काठमाडौं, २८ भदौ । आजदेखि सर्वसाधारणले नयाँ नोट पाउने भएका छन् । दशैंका लागि यसअघि नेपाल राष्ट्र बैंकको थापाथलीबाट मात्रै नयाँ नोट साट्ने व्यवस्था भएकोमा अहिले सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकको १६ शाखा कार्यालयबाट ५, १०, २०, ५० र एकसय दरका नयाँ नोट सटही सुविधाको व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकका न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालय त्यस्तै कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार र राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।

त्यस्तै संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, सेना, प्रहरीलगायतका संघसंस्थाहरुले भने संस्थाको आधिकारिक पत्रको आधारमा भदौ ३० गतेसम्म सटही गर्नसक्ने केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार र नेपाल बैंक र कृषि विकास बैंकको ५५ शाखा र राष्ट्रिय वाणिज्य बैंकको ६ शाखा कार्यालयबाट प्रतिव्यक्ति २० हजार रुपैयाँको नयाँ नोट वितरण हुने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट