सोलुमा बैंक नहुँदा सदरमुकाममा आर्थिक कारोबार

प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

सोलुखुम्बु, भदौ २५ । जिल्लाका आठ स्थानीय तहमध्ये छ वटामा बैंक नहुँदा कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य छन् । गाउँमा बैंक नभएका कारण गाउँपालिकाको खाता सदरमुकामका बैंकमा खोलिएकोले हरेक आर्थिक कारोबारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता रहेको छ ।

अहिले सदरमुकाम रहेको दूधकुण्ड नगरपालिकामा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र दुईवटा निजीसमेत गरी चारवटा बैंकले सेवा दिइरहेका छन् भने खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा रहेको छ । तीबाहेक अन्य छवटा गाउँपालिकाको खाता सदरमुकामकै बैंकमा रहेको छ । बैंक नभएकै कारण कतिपय कर्मचारी तथा जनप्रतिनिधि सदरमुकाम केन्द्रित हुन थालेका छन् ।

सरकारले गत साउन महिनामै हरेक गाउँपालिकामा बैंकको शाखा पु¥याउने भनेको भए पनि अहिलेसम्म पु¥याउन सकेको छैन । लिखुपिके गाउँपालिकाका प्रमुख डम्बरबहादुर बस्नेत बैंकको कामकै लागि दुई दिन पैदल हिँडेर सदरमुकाम आउन बाध्य भएको बताउछन् ।

जिल्लाको दूधकोशी, दूधकौशिका, सोताङ र नेचासल्यान गाउँपालिकामा बैंकको शाखा राख्नका लागि प्रक्रिया अघि बढेको भए पनि महाकुलुङ र लिखुपिके गाउँपालिकामा अझै कुन बैंकले शाखा लैजाने टुंगो गरेका छैनन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट