रिपोर्टर नेपाल समाचार
राजेश थापा मगर
काठमाडौं । जिमखानाका प्रणय शाहीले दोश्रो मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार विभिन्न ५ तौल समूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई पराजित गर्दै प्रणयले उपाधि जितेका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा ७५ केजीमाथि प्रणय पहिलो हुँदै फाइनल चरणमा प्रवेश गरेका हुन् ।
५५ केजीमा मसल्स मेनियाका अवाज प्याकुरेल, ६० केजीमा न्यु फ्लेक्स एन्ड फिट्नेसका रमेश कार्की, ६५ केजीमा सुरेश मुनिकार र ७० केजीमा मसल्स एन्ड फिट्नेसका अमितकुमार मण्डल पहिलो भएका थिए । अमितले बेस्ट पोजरको उपाधि पनि हात पारेका छन् ।
मिस्टर काठमाडौंको उपाधि जितेका प्रणयले उपाधिसँगै नगद रु १ लाख र तौल समूहमा पहिलो भएबापत छुट्टै नगद रु १० हजार पुरस्कार हात पारे । अन्य तौल समूहमा पहिलो हुनेले पनि रु १० हजार नगद पुरस्कार हात पारेका थिए भने दोश्रोले ५ र तेश्रोले ३ हजार नगद हात पार्न सफल भए । मिस्टर काठमाडौंमा ८१ प्रतिस्पर्धीको सहभागित रहेको थियो ।
त्यस्तै, दोश्रो महिला एथ्लेटिक्स फिजिक्समा नेपाल व्यायाम मन्दिरकी रजनी श्रेष्ठ पहिलो भएकी छन् । यस्तै मसल्स वल्र्डकी शोभा मानन्धर दोश्रो र सेप्स टु फिट्नेस एन्ड जिमकी सन्ध्या श्रेष्ठ तेश्रो भएका थिए । ११ प्रतिस्पर्धी सहभागी महिला विजेताले रु २० हजार, उपविजेताले रु १० हजार र तेश्रोले रु ५ हजार नगद पुरस्कार पाएका थिए ।
काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत प्रथम जुनियर मिस्टर काठमाडौंको उपाधि फिट्नेस फस्ट जिमका दामोदर श्रेष्ठले जिते भने न्यु बुल्स जिमका जोन भण्डारी दोश्रो तथा फ्लेक्स जिमका सुजन गुरुङ तेश्रो भएका थिए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु २० हजार, रु १० हजार र रु ५ हजार नगद पुरस्कार हात पार्न सफल भए । यू–२१ उमेर समूहको प्रतिस्पर्धामा २१ खेलाडी सहभागी थिए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरेका थिए ।