नेपालको विजयी सुरुवात

प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

राजेश थापा मगर

काठमाडौं । नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । राउन्ड रोविन लिगको आफ्नो पहिलो खेलमा नेपालले बुधबार भुटानलाई ९६–३८ को स्कोरमा पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो क्वाटरमा २६–१० को अग्रता लिएको थियो । दोश्रो क्वाटरमा भने नेपाल १३–१४ को सामान्य अन्तरले पछि प¥यो । बाँकी दुई क्वाटरमा नेपालले क्रमशः २६–६ र २१–८ को स्कोरले खेल आफ्नो पक्षमा पार्दै जित अन्तर फराकिलो बनाएको थियो । जितमा अभिषेक सिंहको सर्वाधिक २३ अंक योगदान रह्यो ।

त्यस्तै नेपालको स्कोर बोर्डमा चिरञ्जिवी रोकायाले २०, आशिष बस्नेतले १२, सन्तोष खत्रीले ८, आकृष्त शाहीले ७, सयुन राई, निखिल डंगोल र सतीश लामाले समान ६–६, विक्रम बानियाँले ४, सुरेश विकले ३ तथा आशिष भुजेलले १ अंक बनाए । नेपालसँग पराजित भएको भुटानको यो लगातार दोस्रो हार हो । बुधबार नै भएको पहिलो खेलमा भने भारतले बंगलादेशलाई ८२–६५ को स्कोरमा पराजित गदैै प्रतियोगितामा लगातार दोश्रो जित दर्ता गर्दै ४ अंकका साथ शीर्ष स्थानमा रहेका आएको छ ।

बंगलादेशको भने दुई खेलमा यो पहिलो हार हो । दोश्रो स्थानमा रहेको बंगलादेशको ३ अंक भएको छ । अघिल्लो दिन मंगलबार भारतले माल्दिभ्स तथा बंगलादेशले भुटानलाई हराएका थिए । दक्षिण एसियाली ५ राष्ट्र सहभागी प्रतियोगिताको पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एक कार्यक्रमबीच बुधबार उद्घाटन गरेका थिए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट