नजिकिँदै गरेको बडादशैँको साइत सार्वजनिक

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

काठमाडौं, भदौ २१ । यस वर्षको बडादशैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा.डा.रामचन्द्र गौतमका अनुसार वि.सं.२०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ र त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको छ ।

आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ ।

असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी बिसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए ।

विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको ब्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट