घरेलु मैदानमा ताजकिस्तानसँग नेपालको हार

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार

राजेश थापा मगर

काठमाडौं । एएफसी एसियन कप छनौट खेलमा नेपाल घरेलु मैदानमा ताजकिस्तानसँग पराजित भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको खेलमा नेपाल ताजकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा नै दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा एक गोल फर्काउन सफल भएको थियो । खेलको सुरुवाती दश मिनेट उत्कृष्ट खेलेको नेपालले त्यसपछि भने खेलमा लय गुमाएको थियो । ताजकिस्तानले खेलको २५औँ मिनेटमा ज्यालिलोभको गोल मार्फत खेलमा अग्रता बनाएको थियो । ज्यालिलोभले गोल गरेको ४ मिनेट पश्चात नै पुनभ्यासिभ डिल्सहुडले गोल गर्दै ताजकिस्तानको अग्रतालाई दोब्बर बनाएका थिए ।

पहिलो हाफमा विपक्षी गोल पोष्टमा कुनै पनि आक्रमण गर्न नसकेको नेपालले दोस्रो हाफमा भने खेलमा सुधार गर्दै एक गोल फर्काउन सफल भयो । नवयुग श्रेष्ठको स्थानमा मैदानमा प्रवेश गरेका बिमल घर्ती मगरले खेलको ६१औँ मिनेटमा गोल गरेका थिए । समुह एफमा रहेको नेपालले यो हारपछि तीन खेलबाट मात्र एक अंक बटुल्दै समूहको पुछारमा रहेको छ ।

साथै यो हारपछि नेपालको एसियन कपमा छनौट हुने सम्भावना पनि न्यून बनेको छ । समूहमा शिर्ष दुईमा रहने टिम सन् २०१९ मा यूएईमा हुने एसिया कपका लागि छनौट हुनेछ । होम एण्ड अवेका आधारमा हुने खेलमा अब नेपालले ताजकिस्तानसँग उसैको मैदानमा अक्टोबर १० मा खेल्नेछ । तीन खेलको समाप्तिसँगै फिलिपिन्स ६ अंकका साथ पहिलो, ४ अंकका साथ यमन दोस्रो तथा ३ अंकका साथ ताजकिस्तान तेस्रो स्थानमा रहेको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट