महोत्तरीका १४ स्थानीय तहमा राजपाले उम्मेदवारको टुंगो लगायो

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

गौशाला, भदौ २० । स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल महोत्तरीले प्रमुख तथा अध्यक्षका उम्मेदवारको टुंगो लगाएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुखमा रामशंकर मिश्र, गौशाला नगरपालिकाको प्रमुखमा देवनारायण महतो, मनरासिस्वा नगरपालिकाको प्रमुखमा सञ्जय सिंह, रामगोपालपुर नगरपालिकाको प्रमुखमा रामबाबु मण्डल र भंगहा नगरपालिकाको प्रमुखमा सञ्जीव साहको नाम टुंगो लगाएको सो पार्टीका नेता सुदीप झाले जनाए ।

राजपाले बलवा नगरपालिकाको प्रमुखमा विजय महतो, औरही नगरपालिकाको प्रमुखमा शंकर यादव, मटिहानी नगरपालिकाको प्रमुखमा हरिप्रसाद मण्डल र लोहारपट्टि नगरपालिकाको प्रमुखमा जानकीशरण साहको नाम टुंगो लगाएको जनाएको छ । त्यस्तै जिल्लाको सोनमा गाउँपालिकाको अध्यक्षमा विश्वेश्वर यादव, महोत्तरी गाउँपालिकाको अध्यक्षमा सुनिल यादव, पिपरा गाउँपालिकाको अध्यक्षमा विनोद चौधरी, सम्सी गाउँपालिकाको अध्यक्षमा रामबाबु साह र एकडारा गाउँपालिकाको अध्यक्षमा रामछविला साहलाई उम्मेदवारका रुपमा चयन गरेको छ ।

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा राजपाले १४ स्थानको प्रमुख र अध्यक्षको नाम टुंगो लगाएको छ भने उपप्रमुख र उपाध्यक्ष र वडाध्यक्ष तथा वडा सदस्यको नाम आज टुंगो लगाउने योजना रहेको बताएको छ । नेता झाले राजपाले जिल्लाको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेससँग तालमेल गरी चुनाव लड्ने वातावरण बनिरहेकाले बर्दिबासको उम्मेदवार अहिलेसम्म टुंगो लगाउन नसकिएको जनाए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट