पुष्पसदन र साइपाललाई यू–१९ बास्केटबलको उपाधि

प्रकाशित मिति: १७ भाद्र २०७४, शनिबार

राजेश थापा मगर 

काठमाडौं । पाँचौ जेभियर कप यू–१९ बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि पुष्पसदन तथा महिलातर्फको उपाधि साइपालले जितेका छन् ।

शुक्रबार सम्पन्न पुरुषतर्फको फाइनल खेलमा पुष्पसदनले सीसीआरसीलाई ६१–४६ को स्कोरले पराजित गर्यो । पुष्पसदनले सीसीआरसी विरुद्ध पहिलो क्वाटरमा १०–१८, दोश्रो क्वाटरमा १८–८, तेश्रो क्वाटरमा १५–१४ र चौथो तथा निर्णायक क्वाटरमा १८–६ को स्कोर बनाएको थियो । फाइनलमा पुष्पसदनले समग्रमा १५ स्कोरको अन्तरले सीसीआरसीलाई पछि पार्दै उपाधि जित्यो ।

पुष्पसदनको जितमा महत्वपूर्ण भूमिका निभाएका शशी पराजुलीले सर्वाधिक १५ स्कोर गरेका थिए । यता यू–१९ महिलातर्फको फाइनल खेलमा साइपालले आयोजक जेभियर कलेजमाथि ३२–२९ को रोमाञ्चक जित निकाल्न सफल भयो । पहिलो क्वाटर ४–१०को स्कोरले पछि परेको साइपालले दोश्रो क्वाटरमा १२–८ को स्कोरले नियन्त्रणमा लिन सफल भयो । तेश्रो र चौथो क्वाटरमा पनि साइपालले आयोजक जिभियरलाई ६–२ र १०–९को स्कोरले पछि पार्दैै समग्रमा ३ अंकको झिनो अन्तरले पछि पार्दै उपाधि चुम्न सफल भयो । साइपालको जितमा रोशनी श्रेष्ठले महत्वपूर्ण १४ स्कोर गरिन् ।

प्रतियोगिता अन्तर्गत पुरुषतर्फ पुष्पसदनका दिपेश्वर शाह तथा महिलातर्फ साइपालकी छिरिङ छोकी शेर्पा उत्कृष्ट खेलाडी घोषित भए । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्ट, आयोजक क्याम्पसका कार्यकारी प्रमुख लोकबहादुर भण्डारीलगायतले पुरस्कृत गरेका थिए । भदौ ५ गते देखि सञ्चालन भएका ेप्रतियोगितामा महिलातर्फ पाँच र पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट