अर्थमन्त्रीद्वारा लगानीमा क्रियाशील हुन आग्रह

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

काठमाडौं, १६ भदौ । मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आग्रह गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजनको)को १८औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई सम्वृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्नु सहज हुनेमा जोड दिएका थिए ।

लगानी भित्र्याउन र त्यसलाई सही रूपले परिचालन गर्न जरुरी रहेको चर्चा गर्दै मन्त्री कार्कीले शहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनु जरुरी रहेको साथै त्यसले आर्थिक विकास मात्रै नभइ रोजगारीका अवसर समेत सिर्जना गर्नेमा जोड दिए । उनले भने, ‘अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ । त्यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योग व्यवसायी एवं सञ्चार क्षेत्रले दिगो अर्थतन्त्रको विकासका लागि सहयोग गर्नु जरुरी छ ।’ संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको छ भन्दै उनले प्रदेश र संघको निर्वाचनपछि मुलुक पूर्णरुपमा राजनीतिक स्थिरताको चरणमा प्रवेश गर्ने र आर्थिक संवृृद्धिका मार्गसमेत प्रशस्त हुने उल्लेख गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सबल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको बताए । उनले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पु¥याएको चर्चा गरे । बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै नेपालले ८० प्रतिशतभन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको बताए ।

बैंक तथा वित्तीय संस्थाको विस्तारले नै आर्थिक गतिविधि बढाउन सहयोग पु¥याएको छ भन्दै उनले मुलुकको समग्र आर्थिक विकासमा उद्योग व्यवसायी, सरकार र सञ्चार क्षेत्रको सहकार्य जरुरी रहेको स्पष्ट पारे । त्यस्तै कार्यक्रममा सहभागी निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको आवश्यकता औल्याए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट