‘सायाबुङ’को ट्रेलर सार्वजनिक, १ असोजमा च्यारिटी शो

प्रकाशित मिति: १६ भाद्र २०७४, शुक्रबार

विपुल अधिकारी

फिदिम । पाँचथरको माथिल्लो भेगमा बसोबास गर्ने किरात राईहरुको जीवनमा आधारित नेपाली कथानक चलचित्र ‘सायाबुङ’ (सिरफूल) को ट्रेलर सार्वजनिक गरिएको छ ।

बिहीबार फिदिममा पत्रकार सम्मेलन गरी इष्टकाष्ट क्रिएसनको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको बारेमा जानकारी दिइएको थियो । १ असोजमा फिदिमको छाब्दि बराही चलचित्र मन्दिरमा विशेष च्यारिटी शो गरिने चलचित्रका निर्देशक भगिराज राईले बताए ।

फालेलुङ गाँउपालिकाको पहिरो पीडितहरुको सहयोगार्थ ३० भदामौ नेपाल आइडलको टप ७ मा परेकी गायिका प्रमिला राई, गायक सुरज मादेन, उदय नेम्बाङ, प्रेम राई, राजन पल राई तथा बरदान संगितालयका कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम समेत गरिने भएको छ । सो कार्यक्रम र च्यारिटी सोबाट संकलित रकम पहिरो पीडितहरुका लागि दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने निर्देशक राईले जानकारी दिए ।

भगिराज राईको निर्देशनमा निर्मित चलचित्रमा कलाकारहरु मदन दुमी, निशा राई, सौजन सूब्बा, साया राई, सगुन सुसारा, राजनपल राई लगायतले अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन देवजंग थापाले गरेको हुन भने चलचित्रमा दीपक लिम्बू, रजिना रिमाल, दीपा लामा, उदय नेम्बाङलगायतको स्वर रहेको छ । चलचित्रको निर्माण सम्झना ‘साया’ राईले गरेकी हुन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट