भृकुटीमण्डपमा २९ भदौदेखि क्यान कमटेक प्रदर्शनी

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

काठमाडौं, ७ भदौ । भदौ २९ देखि असोज १ गतेसम्म भृकुटीमण्डपमा सूचना तथा सञ्चार प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले क्यान कमटेक २०१७ (इन्फरमेशन, कम्युनिकेशन र टेक्नोलोजी प्रदर्शनी) हुने भएको छ ।

क्यान महासङ्घले प्रदर्शनीमा इण्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स, इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुशन, हार्डवेयर सेल्स तथा मेण्टिनेन्स, पावर सोलुशन्स, मोबाइल एसेसोरिज, डिलर र डिष्ट्रिब्युटर्स, आई सीटी कलेज तथा ट्रेनिङ इन्ष्टिच्युट्स, पेमेण्ट सोलुशन्सको स्टल रहने जानकारी दिएको छ ।

गत मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा क्यान कमटेकमा ८७ ओटा स्टल रहने र सेक्युरिटी सोलुशन्स कम्पनीका लागि छुट्टै स्टलको व्यवस्था गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक सेक्युरिटी तथा सेफ्टी एण्ड सोलुशन नामक सो स्टल क्षेत्रमा सीसीटीभी, सेन्सर, अलार्म, फायर एण्ड स्मोक डिटेक्टर, फायर फाइटरलगायतको प्रदर्शनी हुने जानकारी दिइएको थियो ।

गत वर्षको क्यान कमटेकमा १ लाख ७० हजार ७ सय ७६ जना अवलोकनकर्ता रहेकोमा यसपटक २ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको यस संस्करणको प्रदर्शनीमा विशेषगरी ब्रोडब्याण्ड इण्टरनेट र कम्युनिकेशन टेक्नोलोजीलाई जोड दिइएको छ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट