प्रधानमन्त्री देउवा आज भारत भ्रमणमा जाँदै

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

काठमाडौं, भदौ ७ । भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ दिल्ली जाँदै छन् । प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमण गर्न लागेका प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट आज भारतको पाँच दिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् ।

प्रधानमन्त्री देउवा बुधबार अपराह्न नयाँ दिल्ली पुगेर नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने, साँझ भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एसोसिएटेड चेम्बर्स अफ कमर्श एन्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । नयाँ दिल्लीमा हुने द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी हुने कार्यक्रम रहेको छ ।

यस्तै भारतीय प्रधानमन्त्री मोदीले बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई औपचारिक समारोहबीच स्वागत गरी महात्मा गान्धीको समाधिस्थलमा पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग बिहीबार नै भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्ने र त्यसपछि हैदराबाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच एक्ला एक्लै भेटवार्ता हुने कार्यक्र छ ।

 हैदराबाद हाउसमा दुई देशका सरकार प्रमुखबीचको भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ भने वार्तापछि दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने र नेपाल – भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । त्यसपछि सञ्चारकर्मीलाई दुवै देशका प्रधानमन्त्रीले सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदराबाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन् ।

प्रधानमन्त्री देउवाले बिहीबार अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने, उनीसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा नेपाल एयरलाइन्सको नियमित उडानबाट आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट