१६ भदौदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलवार

काठमाडौं ६, भदौ । दशैं, तिहार र छठपर्वको समयमा उपभोक्तालाई सजिलो होस् भनेर आपूर्ति मन्त्रालयले आगामी १६ भदौदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वको समयमा द उपभोक्तालाई ध्यानमा राख्दै आपूर्ति मन्त्रालय अन्तर्गका सार्वजनिक संस्थानहरुले कार्तिक ९ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका हुन् । आपूर्तिमन्त्री शिवकुमार मण्डलका अनुसार बिक्री वितरण प्रणाली, अनुगमन र चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउँदै नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पोरेसन र नेशनल ट्रेडिङ्गले छुट सुविधा सहितका सुपथ मूल्य पसल सञ्चालन गर्ने छन् ।

चाडपर्वमा उपभोक्ताका सहज र सस्तो सामान नपाउने गुनासो बढ्ने गरेकोले एक महिना पहिले देखि नै सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । सुपथ मूल्य पसलहरुमा नुनमा २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, बासमति चामल र फापरमा १० रुपैयाँ, बासमति बाहेकका चामलमा ५ रुपैयाँ, खसीबोका र च्यांग्रामा १० रुपैयाँ प्रति केजीका दरले छुट दिइने छ ।

काठमाडौंमा कोटेश्वर, थापाथली, जावलाखेल, कालीमाटी, भक्तपुर, ललितपुर लगायतका ९ स्थानमा यस्ता सहुलियत पसल राखिने मन्त्रालयले बताएको छ । यस्तै उपत्यकाबाहिर नारायणघाट, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायतका २२ वटा स्थानमा सुपथ मूल्य पसलहरु संचालन गरिने छन् ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट