आजबाट सवारीमा इम्बोस्ड नम्बर प्लेट

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

काठमाडौं, ५ भदौ । सोमबार यातायात मन्त्री वीरबहादुर बलायारले औपचारिक रुपमा नेपालमा लामो समयदेखि चर्चामा रहेको इम्बोस्ड नम्बर प्लेटको शुभारम्भ गरेका छन् ।

इम्बोस्ड नम्बर प्लेटको टेण्डर २०७२ सालबाट आह्वान गरेर प्रक्रिया सुरु गरिएकोमा दुई वर्षपछि कार्यन्वयनमा ल्याइएको हो । हाल २३ किसिमका नम्बर प्लेट प्रयोगमा रहेको नेपालमा इम्बोस्ड नम्बर प्लेट कार्यन्वयन आएपछि ५ किसिमका नम्बर प्लेट मात्रै रहनेछन् । हाल करिब ४० हजार सरकारी सवारी साधन संचालनमा रहेको विभागको तथ्याङ्कले देखाएको छ ।

पहिलो चरणमा सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राखिने छ भने त्यसपछि अन्य सवारीसाधनमा दोस्रो र तेस्रो चरण गरी ५ वर्षभित्र कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको छ । विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले बागमती अञ्चलमा दर्ता भएका सवारी र त्यसमा पनि सरकारी तथा कुटनीतिक नम्बर प्लेटलाई पहिलो चरणमा  अनिवार्य गर्ने योजना रहेको जानकारी दिए।

कुन सवारी साधनमा कस्तो नम्बर प्लेट ?

इम्बोस्ड नम्बर प्लेटअनुसार अबदेखि राष्ट्रपतिको सवारीमा नेपालको झण्डा, झण्डामुनि माथिबाट हल्का निलो रङ हुँदै गाढा निलो रङ, एनइपी अक्षर, त्यो अक्षरमुनि लालिगुराँससहित नेपालको निशान छाप हुने हुनेछ ।

त्यसैगरी सार्वजनिक सवारीमा पहेंलो प्लेटमा कालो, निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर, सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर र कुटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहने कानुनी व्यवस्था गरिएको छ । सबै प्रकारका सवारी साधनको नम्बर प्लेट अगाडि लामो र पछाडि चतुर्भुज आकारको हुनेछ ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट