धर्मशाला निर्माण गर्न महायज्ञ सुरु

प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

रिपोर्टर नेपाल

राजविराज, ५ फागुन । सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

बुधबार श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोन लगायतका गाउँबाट सहभागी महिलाले स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खरसाल हुँदै सप्तरी सदरमुकाम राजविराजको विभिन्न वडा परिक्रमा गरी खुरहरियास्थित डिहबार स्थानमा पुगेर भव्य शोभा कलश यात्रा गरी टुङ्गिएको थियो ।

बाल व्यास विदूषि सुश्री सुविना देवीबाट भक्ति सङ्गीतमय कथा एवम् देव लीला झाँकी आजदेखि सो महायज्ञमा प्रदर्शन हुने बताइएको छ । पूजाअर्चना र आरती बिहान ७ देखि ८ बजेसम्म, श्रीमद्भागवत पाठ पारायण बिहान ८ देखि ११ बजेसम्म हुने तथा सङ्गीतमय कथा प्रवचन दिउँसो २ देखि साँझ ६ बजेसम्म, महात्मा भक्ति सङ्गीत साँझ ७ देखि रात्रि ९ बजेसम्म, फागुन ११ गते तिल अर्पण र जागरणसमेत हुने यज्ञ आयोजक समितिले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट